Saturday, January 16, 2016

आलुमा रातो कमिला नियन्त्रण विधि


आलुमा रातो कमिला नियन्त्रण विधि
काशीनाथ चिलुवाल, बैज्ञानिक
रातो कमिला सामाजिक कीरा हो । रानो, कर्मी र भाले कमिला एउटै गोलामा रहनछन् र गोला जमिनबाट करीव १.५ देखि २ मिटर तल बनाउँदछन् । कर्मी कमिलाहरुको शरीर ३–६ मिलिमिटर लामो हुन्छ । कर्मी मौरीहरुको शरीर ३–६ मिलिमिटर लामो हुन्छ । कर्मी कमिलाहरु राता खैरा रंगका, अन्धा, नपुशक पोथी कमिला हुन । भाले र रानो कमिला तुलनात्मक रुपले ठूला हुन्छन्, बारुला जस्ता देखिन्छन र प्रजनन् प्रकृयामा भाग लिन्छन् । रानो कमिला प्वाँखरहित हुन् र अरुको भन्दा हल्का ठूलो पेट भएको हुन्छ । भाले कमिला चाहिं गाढा खैरो रंगका र जोडी मुलायम पखेंटा भएका हुन्छन् ।
क्षतिको प्रकार
कर्मी कमिलाले जमिनमुनि सुरुङ्ग बनाएर खाना खोज्ने कार्य गर्दछ । यिनीहरु विशेष गरी माटोभित्र काउली समुहका बालीका काण्ड, जरा तथा आलुका दानामा आक्रमण गर्दछन् र पोषक तत्व तथा पानी विरुवाको जराबाट पातसम्म जानबाट रोक्दछन् । शुरुको अवस्थामा दिउँसो घाम लागेको अवस्थामा विरुवा ओइलाउने र विहान वेलुका स्वस्थ्य देखिन्छन् र अन्त्यमा विरुवा ओइलाएर मर्छन । रातो कमिलाले धेरै बालीनालीमा आक्रमण गर्दछन् र विशेष गरी काउली, बन्दा, भन्टा, आलु, मुला, गाँजरमा अत्याधिक क्षति पु¥याउँछ ।
नियन्त्रणका विधिहरु:
१. घरेलु विषादीको प्रयोग
पाँच भाग पानी र एक भाग गाईको मुत्र मिसिएको मिश्रणमा ५ ग्राम सुर्तिको धुलो प्रति लिटर मिश्रणका दरले घोलेर आलुका दाना लाग्ने समयमा विरुवाको वरीपरी माटो भिज्ने गरी हाल्ने र ३० दिनमा पुनः दोहो¥याउने ।
२. निमयुक्त विषादीहरुको प्रयोग हाल आएर निमबाट बनेका कीटनाशक विषादीहरु बजारमा प्रशस्त मात्रामा उपलव्ध छन् । जस्तै निकोनिम (एजाडिराक्टिन ०.१५% डब्लु/डब्लु, अल्टिनिम (एजाडिराक्टिन ०.३०% डब्लु/डब्लु आदि । यी विषादीमध्ये कुनै एकलाई ५ मिलि लिटर प्रतिलिटर पानीमा मिसाएर विरुवाको जरामा पर्ने गरी वरीपरी माटो भिज्ने गरी प्रयोग गरेर पनि रातो कमिला नियन्त्रण गर्न सकिन्छ ।
३. बिषाक्त खानामा लोभ्याउने
शुरुमा विषादि नहालिएको पाउरोटीका टुक्राहरुलाई फरक फरक ठाउँमा माटोमुनि २ सेमि तल राख्ने । यदि कमिलाको उपस्थिति देखियो भने अर्को पल्ट क्लोरोपाइरिफस २०% इसि १.५ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर पाउरोटीका टुक्राहरुलाई उपचार गरी विषाक्त खाना बनाएर कमिला लागेका ठाउँमा राखी कमिलालाई नियन्त्रण गर्न सकिन्छ ।
४. रासायनिक विषादीको प्रयोग
क्लोरोपाइरिफसको प्रयोग रातो कमिला नियन्त्रणमा प्रभावकारी देखिएको छ । डर्सवान १०% जी १ केजी प्रति रोपनीका दरले विरुवा रोप्नुअधि प्रयोग गर्न सकिन्छ अथवा क्लोरोपाइरिफस २०% इसी लाई २ मिलिलिटर प्रति लिटर पानीमा घोलेर आलुका दाना लाग्ने समयमा बिरुवाको जरा भिज्ने गरी प्रयोग गर्ने । आलुको रातो कमिला नियन्त्रणको प्रारम्भिक नतिजा अनुसार फेन्भेलारेट ०.४% डि लाई प्रति रोपनी १ केजीका दरले प्रयोग गर्दा अत्यन्तै प्रभावकारी पाइएको छ । यसलाई आलु रोप्ने बेलामा कुलेसोमा पहिले बिषादी राख्ने अलि हल्का माटो राखेपछि बीउ आलुका दाना रोप्न सकिन्छ ।

No comments:

Post a Comment

Location Map