Friday, May 22, 2026

निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

 साना किसान कृषि सहकारी संस्था लिमिटेड, इमिलियाको आयोजना एवं आर्थिक सहयोगमा स्थानीय श्री माध्यमिक विद्यालय इमिलियाका विद्यार्थी तथा शिक्षक-अभिभावकहरूको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंज, कपिलवस्तुले प्राविधिक व्यवस्थापन तथा प्राविधिक सहयोग गरेको थियो।

शिविरमा विद्यालयका कूल १,३३० जना विद्यार्थीहरूले आफ्नो आँखाको जाँच गराएका छन्, जसमा ६०० जना छात्रा र ७३० जना छात्र रहेका छन्।

परीक्षणका क्रममा आँखामा दृष्टि सम्बन्धी समस्या देखिएका २६ जना विद्यार्थीका लागि पावर चस्माको अर्डर गरिएको छ भने थप जटिल समस्या भएका र विस्तृत उपचार आवश्यक देखिएका १० जना विद्यार्थीहरूलाई थप उपचारका लागि आँखा अस्पतालमा रिफर गरिएको छ। यस्तै, सामान्य समस्या भएका २०० जना विद्यार्थीलाई विभिन्न प्रकारका आई ड्रप्स (औषधि) वितरण गरिएको छ। शिविरमा ८ जना शिक्षक तथा अभिभावकहरूलाई नजिक देख्ने चस्मा समेत प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संस्था लि. इमिलियाका अध्यक्ष चुरामणी पोख्रेलले संस्थाले व्यावसायिक कृषिका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यो शिविर सञ्चालन गरिएको बताउनुभयो।

त्यस्तै, श्री माध्यमिक विद्यालय इमिलियाका प्रधानाध्यापक दिनेश खनालले विद्यार्थीहरूको स्वास्थ्य नै पहिलो प्राथमिकता भएको बताउँदै ग्रामीण क्षेत्रका बालबालिकाहरूका लागि यो शिविर निकै फलदायी भएको भन्दै आयोजक संस्था तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गर्नुभयो।

शिविर सञ्चालनका लागि आएका प्राविधिक टोलीको गाडी भाडा, खाना, नास्ता तथा पारिश्रमिक लगायतको सम्पूर्ण आर्थिक व्यवस्थापन साना किसान कृषि सहकारी संस्था लि. ले गरेको संस्थाका व्यवस्थापक बलराम भुसालले जानकारी दिनुभयो।

No comments:

Post a Comment

Location Map