Tuesday, January 19, 2016

पासपोर्ट थन्क्याएर तरकारीखेतीमा

झापाको पाँचगाछि गाउँ अहिले तरकारीले ढपक्कै ढाकेको छ। यहाँका किसानको बिहानदेखि बेलुकासम्मको परिश्रम खेतबारी काउली, भण्टा, खोर्सानी, करेला, साग, सिमि, राजमा लगायतका तरकारीका बोट सुम्सुम्याउन मै बित्ने गरेको छ । 
 
‘बिदेशमा पनि यस्तै श्रम गर्ने हो, यही श्रमले हाम्रो गाउँ बिदेश भन्दा के कम छ र ?’ तरकारी खेती गर्दै आएका कामेश्वर साहले भने।
 
बिदेशिने मन बनाएर झापा पाँचगाछी ४ का कामेश्वर साहले ०६२ सालमा जिल्ला प्रशासन कार्यलय झापाबाट पासपोर्ट निकालेका थिए । उनी त्यसबेला ३२ वर्षका मात्र थिए । घरमा आफ्ना बुवासंग उनले पैसा कमाउन विदेश जाने सल्लाह गरेका थिए।  तर उनका बुवाले यहीँंको खेत बारीलाई सबै मिलेर बिदेश बनाउनुपर्छ भनेका  कारण कामेस्वरको पासपोर्ट अहिले पनि दराजमा थन्किएको छ । 
उनी भन्छन्, ‘अब त बिदेश जाँदै जान्न, यहीँ मेहनत गर्छु।’ 
 
कामेस्वरले तरकारी खेतीलाई नै आफ्नो पेशा बनाएर घर गुजारा चलाउने मात्र होइन मोटरसाईकल, ट्याक्टर तथा घरमा आवश्यक अन्य सुविधाका सामान पनि जोडेका छन्। यी नै सबका लागि उनी बिदेश जाने सोचमा थिए । तर उनका बारीमा फलेका र फुलेका तरकारीले उनलाई खाडीमुलुकको कमाईभन्दा बढी सन्तुष्टि दिएको साह बताउँछन्। 
 
शहरबाट त्यो गाउँमा पुग्ने जो कोहिले पनि तरकारीको बोट र फल हेरेर आनन्द लिने गरेको स्थानीयबासी बताउँछन्। गाँउका करिव ६५ घरका खेत यतिबेला तरकारी बालीले ढपक्कै ढाकेको छ । तरकारी बारीमै जन्मिएको बताउने कामेश्वरका बावु रामलालले आफू ६४ वर्ष पुग्दापनि तरकारी खेती अलिकति पनि घटाएका छैनन् । उनले भने, ‘छोरो बिदेश जान्छु भन्थ्यो, यहीँ तरकारी खेती गरेर यहाँको माटोलाई बिदेश बनाउनु पर्छ भनेँ। अहिले राम्रै गरिरहेका छौँ।’
 
 साह परिवारका आठै जना सदस्य तरकारी बालीमा झुम्मिएका छन्। एक फसलको धानखेतीको उत्पादनभन्दा तीनगुणा बढी आम्दानी तरकारी बालीले दिने उनीहरुले बताए ।
 
साहले डेढ बिगाहा जमिनमा तरकारी बाली लगाएका छन्। यो ढेड बिगाहा जग्गामा धान भने एकसय मन उत्पादन हुन्थ्यो । एक सय मन धान बिक्री गर्दा प्रतिमन ८ सय ६० का दरले ८६ हजार रुपैयाँमात्र हुन आउने बताए । धानखेतीको लागत सुनाउँदै साहले भने, ‘बीउ, मजदुर, मलखाद, पानी लगायतको खर्च जोड्दा आधापनि बच्दैन तर, तरकारी बाली लगायो भने खर्च कटाएर पनि तीनगुणा बढी आम्दानी हुन्छ।’
 
पाँचगाछी ४ स्थित यो गाउँका युवो २ प्रतिशत मात्र बिदेसीएको सुनाउँछन् स्थानीय जानकारहरु । यहाँका स्थानीय युवायुवतीहरु बिहान क्याम्पसमा र दिउँसो तरकारी खेतीमा व्यस्त हुन्छन्। जनआदर्स उमावि शिवगञ्जमा कक्षा १२ मा अध्ययन गर्ने डोमलाल चौधरी बिहान कलेज जान्छन् र दिउँसो तरकारी बालीमा काम गर्छन्। उनी भन्छन्, ‘बिदेश गएको भए मेरो पढाईपनि बिग्रिन्थ्यो, पैसा पनि हुन्थ्यो कि हुन्नथ्यो, शरिरले रोगपनि कमाउथ्यो होला । खेतबारीमा काम गर्दा शारिरीक व्यायाम पनि हुन्छ। घरै बसेर पढ्ने, कमाउने सबै भएको छ।’
 
स्थानीयले बारीमा लगाएको तरकारी जिल्लाका गौरादह, झिलझिले, दमक, शिवगञ्ज लगायतका बजारमा खपत हुनेगरेको छ । पाँचगाछीका अधिकांस किसानले रासायनिक मल र बिसादीको प्रयोग घटाउदै गरेकाले पनि यो गाँउको तरकारी स्वादिलो हुने उपभोक्ता बताउँछन् । तर भारतीय बजारबाट नेपाल भित्रिने तरकारी सस्तिएका कारण स्थानीय उत्पादनले बजार नपाएको गुनासो किसानको छ । स्थानीय किसानका अनुसार नेपाली तरकारी बजारमा फलभन्दा पात हारालुछ हुन्छ ।
 
गाउँमा गाई, बंगुर, बाख्रा, भँसी फार्म खोलिएकाले त्यहाँका चौपायालाई आहाराका लागि काउली, बन्दाका पातहरु लाने गरेको उनीहरुले बताए । पात त बोट बाटै बिक्रि हुनेगरेको तरकारी खेती गर्ने अर्का किसान खडानन्द साहले बताए । फलको आधा दरमा पात बिक्रि हुने गरेको छ । काउलीको पात पोसीलो र दुधिलो भएकाले पनि यसको माग बजारमा बढेको किसान बताउँछन्।
 

प्रकाशित मिति: मंगलबार, माघ ५, २०७२ १२:१७:२५

No comments:

Post a Comment

Location Map