Sunday, May 8, 2016

‘तौलिहवा हो बुद्ध नगरी, बसौं हामी सफा गरी’ युवाहरु जुटे सरसफाई अभियानमा

सनिउल्ला धोबी
२६ वैशाख, तौलिहवा । ‘तौलिहवा हो बुद्ध नगरी, बसौं हामी सफा गरी’ भन्ने नाराका साथ स्थानिय युवाहरुको पहलमा सरसफाइ अभियान सुरु गरिएको छ ।
तौलिहवा सरसफाई अभियान समिति गठन गरी आइतबारदेखि ३ महिने अभियान थालिएको हो । अभियानको पहिलो दिन तौलिहवाको शिवमन्दिर टोल, चोक बजार लगायतका क्षेत्रमा सरसफाई गरिएको छ । अभियानमा जिल्लाका सुरक्षा निकायका प्रमुखसहित नगरबासी, सञ्चारकर्मी र युवा-युवतीहरुको उल्लेखनीय सहभागीता थियो ।
अभियान अन्तर्गत २४ वटा सरसफाईका कार्यक्रमहरु सञ्चालन गरिने छ । अभियान अन्तर्गत हालका लागि हरेक बुधबार र शनिबार बिहान २ घण्टासम्म अभियान सञ्चालनमा ल्याई सरसफाई गरिने समितिका सदस्य अजिज खानले बताए ।
‘सुन्दर तौलिहवा हाम्रो अभियान, फैलिन्छ जहाँबाट शान्ति र ज्ञान’ भन्ने सन्देश प्रवाह गर्न अभियान सार्थक हुने खानले विश्वास गरे ।
युवाहरुले सञ्चालन गरेको अभियानमा नगरबासी र व्यवसायीको समेत ऐक्यबद्धता रहेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए । जिल्लामा खुल्ला दिसामुक्त अभियानसँगै सरसफाईको सचेतनाका लागि बिभिन्न अभियान चल्दै गर्दा युवाको अगुवाईमा थालिएको नगर सफाइ अभियान उपलब्धीमुलक हुने अपेक्षा गरिएको स्थानिय बिकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताए ।
सरसफाई अभियानमा मन्तब्य दिँदै प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले नगर सफाइका लागि युवाहरुले अगुवाई गर्नु सह्रानीय भएको बताइन् । उनले अभियानलाई निरन्तरता दिने कार्यमा नगरबासी समेत सरिक भै नगरलाई सरसफाइको नमूना बनाउन आवश्यक रहेकोमा जोड दिइन् ।
युवाहरुले कुनै पनि निकायको आर्थिक सहयोग बिना स्वतः स्फुर्त रुपमा चलाएको अभियानलाई नगरबासीले प्रशंसा गरेका छन् । कपिलवस्तुको बुद्धस्थल भएकाले समेत कपिलवस्तु नगर क्षेत्र तौलिहवालाई सरसफाईको नमूना बनाउन आवश्यक रहेको अभियानका संयोजक प्रकाश घिमिरेले बताए । उनले अभियानलाई स्वतःस्फुर्त रुपमा साथ दिन सबैलाई आह्वान पनि गरे ।
२०७३ वैशाख २६ गते १६:२६ मा प्रकाशित on अनलाइनखबर

No comments:

Post a Comment

Location Map