Friday, May 20, 2016

कृषिका लागि लगानी जुटाउँदै इजरायलमा नेपाली

जेष्ठ ६, २०७३- पाँच सय नेपाली युवालाई इजरायलले हरेक वर्ष कृषि शिक्षणमा ल्याउँछ । लर्न एन्ड अर्न (सिकौ र कमाऔं) भनिने यो कार्यक्रममा काम गराइबाट सिक्न पाइन्छ । तलबसमेत मिल्छ । 
त्यही प्रयोजनका लागि आएका युवाहरूले यतै एउटा समूह बनाएका छन् र अठोट गरेका छन्- नेपाल फर्किएर कृषिमै लगानी गर्ने । नेपालको निर्वाहमुखी कृषिलाई ब्यवसायीकरण गर्न इजरायलले सहयोग गर्ने भएपछि उनीहरु आफ्नो कमाइलाई एकिकृत गरेर कृषि परियोजना चलाउन अग्रसर भएका हुन् । 
'हाँको कृषि प्रविधी मात्र होइन प्रणालीलाई समेत नेपाल लैजान हामी सामुहिक रुपमा लागीपरेका हौं,' कृषिमा कार्यरत विनोद घिमिरेले भने । उनी चार बर्षदेखि इजरायलमा कृषि क्षेत्रमै काम गर्दै आएका छन् । उनीहरूको सहकारी र लगानी दुवै अवधारणा इजरायलकै जस्ता छन् । पहिलो चरणमा उनीहरुले सामुहिक कोष बनाएका छन् जसमा करिब ३ करोड रुपैयाँ जम्मा भइसकेको छ । 
सरदर पाँच/पाँच महिनाको बचत औसत पाच/पाँच लाख रुपैयाँबाट यो योजना प्रारम्भ गरिएको छ । जसमा ५० जनाभन्दा बढी युवा संगठित भइसकेका छन् । उनीहरुलाई इजरायलका नेपाली संघसंस्था, गैरआविसय नेपाली संघ, इजरायलका सरकारी निकाय र निजी क्षेत्रले पनि सहयोग गर्ने भएकाले उत्साही भएका हुन् । 
'नेपाली श्रमिकहरू इमान्दार, कर्तव्यपरायण र मेहनती छन्', एक इजरायली अधिकारीले भने, 'उनीहरूले स्वदेशमा उल्लेखनीय काम गर्न सक्छन् भन्ने विश्वासमा यताबाट सहयोग जुटाउन सकिन्छ ।' उनका अनुसार यहाँका रोजगारदाता कम्पनीहरूसमेत सहयोग गर्न तयार छन् । 
अरभा कृषि केन्द्रका विभिन्न टिमलाई संयोजनसमेत गरेर नेतृत्व गर्दै आएका छन् घिमिरेले । उनीहरुले अरभा नेपाल बहुउद्देश्य सहकारीसमेत स्थापना गरेका छन् । त्यसैमार्फत लगानी जुटाइरहेका छन् । घिमिरे 'लर्न एन्ड अर्न' समुहको नेतृत्व गर्छन् । गैर आवासिय नेपाली संघमा पनि छन् । उनी आफू भने हाल विद्यार्थी भिसामा छन्, र कृषिमा उच्चशिक्षा हासिल गर्दैछन् । 'लामो समय इजरायलमा रहनुभन्दा काम सिकेर केही रकम जम्मा गरी नेपालमै गएर कृषि पेशा अंगाल्नु आवश्यक छ', उनले भने । 
उनको योजनामा सुरुमै एकै स्थानमा एक सय गाई, ४० हजार कुखुरा, भेडा र बाख्रा, माछा पालन, आधुनिक तरकारी खेती गर्नेलगायत छ । त्यसमा दूध उद्योग पनि राखिनेछ । साथमा आधुनिक कृषिलाई पर्यटकिय क्षेत्र बनाएर होम स्टे र रेष्टुरेन्टको अवधारणा पनि छ । 
उचित बातावरण बनेमा इजरायलले नेपालमा लगानी गर्नेमा तेलअभिभस्थित नेपाली दूतावासका अधिकारीहरु पनि ढुक्क छन् । हरेक वर्ष ५ सय युवा यहाँ आउछन् । भूकम्पका कारण अघिल्लो समूहले भने दुई वर्ष पूरा गर्न लागेको छ । यिनीहरू दुई महिनापछि फर्किएलगत्तै अर्को समूह आउनेछ । नेपालमा सिकेर कमाएर फर्किइसकेकाहरू १२ सयभन्दा बढि छन् । कतिपयले ब्यक्तिगत रुपमा र कतिले सानो समुहमा लगानी गरिरहेका छन् । उनीहरु सफल पनि छन् । 
इजारायलका कृषि तथा ग्रामिण विकासमन्त्री एमके येर समिरले दुई बर्षअघि नेपाल भ्रमण गर्दा निर्वाहमूखी कृषिलाई व्यावसायिकरण गर्न साथ दिने बताएका थिए । उनले इजरायल कृषि प्रविधी उपलब्ध गराउन र लगानी गर्न तयार रहेको जानकारी गराएका थिए । इजरायलमा  प्रभावकारी र सुक्ष्म सिचाई प्रविधि, पानीको स्रोत व्यवस्थापन, उच्च उत्पादन विधि, पोष्ट हार्भेस्ट, आधुनिक डेरी फार्मिङ प्रचलित छन् । 
साना किसान इजरायको प्रविधि सिक्न आउनेलाई दुई बर्षदेखि नेपालको साना किसन विकास बैंकमार्फत ल्याउने गगरिएको छ । त्यसअघि सिटिइभिटी र कृषि क्याम्पसबाट उच्चशिक्षा हासिल गरिरहेकालाई ल्याउने गरिएको थियो । सन २०१० मा नेपाल-इजराय कृषि सहयोग आदान-प्रदानबारे सम्झौता भएको थियो । 'नेपालीसँग मिलेर इजरायली व्यवसायी कृषिमा लगानी गर्न तयार देखिएका छन् । नेपालमा कृषिको ठूलो संभावनासमेत देखेका छन्', नेपाली राजदूत प्रल्हाद प्रसाईले भने । 
प्रकाशित: जेष्ठ ६, २०७३
 कान्तिपुर समाचार

http://kantipur.ekantipur.com/news/2016-05-19/20160519203416.html

http://kantipur.ekantipur.com/news/2016-05-19/20160519203416.html

http://kantipur.ekantipur.com/news/2016-05-19/20160519203416.html

No comments:

Post a Comment

Location Map